शब्दशक्ति
शब्दमा रहेको अर्थ बुझाउने सामर्थ वा व्यपारलाई शब्दशक्ति भनिन्छ । शब्दमा भएको शक्तिको अवधरण मानिसले सठिकता संग प्रयोग गरेमा त्यसले उसको जीवनमा ठुलो भूमिका निभाउँछ। प्रत्येक शब्दमा आफ्नै एउटा अर्थ बुझाउने शक्ति हुन्छ।
जस्तै, डमरु शब्दमा बाजा विशेष भन्ने अर्थ र बाघको बच्चा भन्ने अर्थ बुझाउने सामर्थ्य हुन्छ। यसरी कुनैपनि शब्दले प्रकट गर्ने एक भन्दा धेरै अर्थ पता लगाई शब्द र अर्थ बिचको सम्बन्ध खुट्याउने व्यपारलाई शब्दशक्ति भनिन्छ।
यस शब्दशक्तिका पनि बिभिन्न भेद उपभेदहरु छन्। ति भेदहरुबारे यहाँ संक्षिप्तमा कुरा गरिएको छ :-
∆ शब्दशक्तिको भेद- उपभेद :
शब्दशक्ति मुख्यतः तीन प्रकारका हुन्छन्। ति हुन् ----------- १) अभिधा (२) लक्षणा (३) व्यजना
१) अभिधा : सोझे एवं प्रत्यक्ष अर्थ मात्र बुझाउने शक्तिको नाम अविधा हो। अभिधा शक्तिलाई वाचार्थ, मुख्यार्थ र कोशीय अर्थ पनि भनिन्छ। यो शक्ति हुँदा शब्द र अर्थमा वाच्य-वाचक सम्बन्ध हुन्छ। शब्दलाई वाचक र मुख्यार्थलाई वाच्य भनिन्छ।
जस्तै-
भात (वाचक) ----- पकाएको चामल (वाच्य)
यसरी अभिधा शब्दशक्ति हुँदा शब्द र अर्थमा वाच्य र वाचकको सम्बन्ध हुन्छ। अभिदा शक्ति पनि तीन प्रकारका हुन्छन्
ति हुन् -
१.१) रुढ (१.२) यौगिक (१.३)योगरुढ
१.१) रुढ : मूल शब्दलाई रुढ भनिन्छ। यस्ता शब्दहरुको बनोट नहुने हुँदा अविभाज्य हुन्छन्। तिनमा प्रकृति प्रत्यय आदि केहिको पनि योग हुँदैन। यस्ता शब्दहरुको व्युप्तिमूलक अर्थ नभइ चलनचल्तीको रुढ अर्थ हुन्छ।
जस्तै - मान्छे, गोरू, रूख, टाउको, नाक, पात, फूल आदि।
१.२) यौगिक : प्रकृति र प्रत्ययको सार्थक योगबाट व्युत्पन्न शब्दलाई यौगिक शब्द भनिन्छ। यस्ता शब्द विभाज्य हुन्छन् र तिनको व्युत्पत्ति पनि गर्न सकिन्छ। कृदन्त, तद्धितान्त र समस्त शब्दहरु यौगिक शब्द हुन्।
जस्तै- ढकनी, घरेलु, सुन्दरता, पुस्तकालय, राँकेभुत आदि।
१.३) योगरुढ : प्रकृति र प्रत्ययको योगबाट बनि विशिष्ट वा रुढ अर्थ बुझाउने शब्दलाई योगरुढ भनिन्छ।
जस्तै- पंकज,लालपुर्जा , पीताम्बर आदि।
२) लक्षणा : अभिधा शक्तिको अर्थ बुझाउने प्रक्रियामा बाधा पुग्दा लक्षणा शक्ति पैदा हुन्छ। सोझो अर्थ नदिएर अप्रत्यक्ष वा घुमाउरो अर्थ दिने शक्तिलाई लक्षणा भनिन्छ।
जस्तै- "कस्तो गधा रहेछ, केही पनि नबुझने।"
यहाँ 'गधा' भन्नाले विशेष प्रकारको जनावरलाई नचिनाएर जानवर जस्तै विवेकशुन्य मानिसलाई भनेको हो।
यसले वाच्यार्थ वा मुख्यार्थ भन्दा विभिन्न अर्थ बुझाउँछ तर अर्थको सम्बन्ध वाच्यार्थ सँग रहन्छ।
लक्षणा शक्तिमा पनि मुख्यतः दुई प्रकारको उपभेद पाहिन्छ ती यसप्रकार छन्-
२.१) रुढी लक्षणा (२.२) प्रयोजनवादी लक्षणा
२.१) रुढी लक्षणा : रुढी वा लोकप्रसिद्धिका कारण मुख्यार्थ बाधित भई त्यससित सम्बद्ध आर्को अर्थ ग्रहण गरिएमा त्यसलाई रुढी लक्षणा भनिन्छ।
जस्तै-
नेताहरूसँग देश रिसाएको छ ===> नेताहरुसँग देशवासीहरु रिसाएका छन्।
उनको निधनमा सहर रोयो ===> उनको निधनमा सहरवासी रोए।
२.२) प्रयोजनवादी लक्षणा : कुनै विशेष सिद्धिका प्रयोजनका निम्ति मुख्यार्थ बाधित भई त्यससित सम्बद्ध आर्को अर्थ ग्रहण गरिएमा त्यसलाई प्रयोजनवादी लक्षणा भनिन्छ।
जस्तै-
मेरो कार्यलय सडकमा छ ===> मेरो कार्यलय सडकको छेउमा छ।
३) व्यञ्जना : अभिदा र लक्षणा भन्दा भिन्न अर्थबेध गराउने शक्तिलाई व्यञ्जना शक्ति भनिन्छ। जस्तै, 'सुर्य अस्तायो' भन्ने कथनबाट ग्रहस्थिलाई साँझको खाना बनाउने अर्थबोध गराउँछ, गोठालालाई गाईवस्तु घर फर्काउने, बालकहरुलाई घरबाहिर निस्कन नहुने समय बोध गराउँछ, आदि बिभिन्न अर्थ बुझ्न सकिन्छ।
यसरि अभिधा र लक्षणाले दिन नसक्ने अर्थ व्यञ्जना शक्तिले प्रदान गर्छ।
व्यञ्जना शब्दशक्तिमा पनि दुई प्रकारको भेद देखापर्छ, ति हुन्-
३.१) शाब्दिवयञ्जना (३.२) आर्थिवञ्जना
३.१) शाब्दिव्यञ्जना : शब्दको प्रधानता हुने व्यञ्जनालाई शाब्दिव्यञ्जना भनिन्छ। यसमा पर्यायवाची शब्द राख्न नहुने हुँदा पर्यायवाची शब्द राख्दा व्यञ्जना शक्ति नष्ट हुन्छ।
जस्तै - महेशका घाँटीमा सर्प बेरिएको छ।
उपर्युक्त वाक्यांशमा महेश शब्दको अर्थ घाँटीमा सर्प बेरिएको सन्दर्भमा 'शिव' भन्ने बुझिन्छ।
३.२) आर्थिव्यञ्जना : अर्थको प्रधानता हुने व्यञ्जनालाई आर्थिव्यञ्जना भनिन्छ। यसमा पर्यायवाची शब्द राख्न मिल्ने हुँदा पर्यायवाची शब्द राख्दा पनि यसको व्यञ्जना शक्ति नष्ट हुँदैन।
जस्तै - घाम अस्तायो।
यसमा पर्यायवाची शब्द राख्दा पनि अर्थमा फरक नपर्ने हुनाले घामको साटोमा सुर्य, रात,अँध्यारो आदि पनि प्रयोग गर्न सकिन्छ।
टिप्पणियाँ
एक टिप्पणी भेजें