समालोचक राजनारायण प्रधान
समालोचक राजनारायण प्रधानको जन्म सन् १९२७ मा दार्जिलिङमा भएको थियो। उनका समालोचनाहरू पढ्दा उनी आफ्ना पूर्ववर्ती समालोचक रामकृष्ण शर्मा, इन्द्रबहादुर राई आदिबाट प्रेरित प्रभावित देखिन्छन् तर उनका कतिपय समालोचनाहरू उनीहरूभन्दा भिन्नै किसिमको मानदण्ड एवम् धारणामा गरेको पाइन्छ। उनी आफ्ना समालोचनामा कुनै कृतिको व्याख्या विवेचना गर्नभन्दा अघि त्यस कृतिका कृतिकारको परिचय नदिई तथा उनीहरूको गुणगान नगरी कृतिको चर्चा गर्न सक्दैनन्। तुलनात्मक समालोचना पद्धतिलाई आत्मसाथ गरी प्रधान 'भानुभक्तमा बसन्त शर्माझैँ भावको शीतलता पाउँछन् भने शैलीका आधारमा रघुनाथमा साडीको खस्रो बनौट र भानुभक्तमा मलमलको मिश्रणता पाउँछन्'। प्राय जसो उनको समालोचनाहरूमा प्रधानले एउटा कृतिसँग अर्को कृति दाँजेर हेरेको पाइन्छ। उदाहरण स्वरूप कालिदासको 'ऋतुसहारसँग' लेखनाथको 'ऋतुविचार'। उनका समालोचनात्मक कृतिहरूको अध्ययन गर्दा उनले प्रभावपरक व्याख्यात्मक पद्धतिको पनि प्रयोग गरेको देखिन्छ। मुनामदन सम्बन्धी वासुदेव त्रिपाठी, ईश्वरबराल, वामदेव पहाडीका विचारहरुलाई समेटेर यस खण्डकाव्यमा भएको कथावस्तुलाई कारुणिक कथा भ...