समालोचक राजनारायण प्रधान
समालोचक राजनारायण प्रधानको जन्म सन् १९२७ मा दार्जिलिङमा भएको थियो। उनका समालोचनाहरू पढ्दा उनी आफ्ना पूर्ववर्ती समालोचक रामकृष्ण शर्मा, इन्द्रबहादुर राई आदिबाट प्रेरित प्रभावित देखिन्छन् तर उनका कतिपय समालोचनाहरू उनीहरूभन्दा भिन्नै किसिमको मानदण्ड एवम् धारणामा गरेको पाइन्छ। उनी आफ्ना समालोचनामा कुनै कृतिको व्याख्या विवेचना गर्नभन्दा अघि त्यस कृतिका कृतिकारको परिचय नदिई तथा उनीहरूको गुणगान नगरी कृतिको चर्चा गर्न सक्दैनन्।
तुलनात्मक समालोचना पद्धतिलाई आत्मसाथ गरी प्रधान 'भानुभक्तमा बसन्त शर्माझैँ भावको शीतलता पाउँछन् भने शैलीका आधारमा रघुनाथमा साडीको खस्रो बनौट र भानुभक्तमा मलमलको मिश्रणता पाउँछन्'। प्राय जसो उनको समालोचनाहरूमा प्रधानले एउटा कृतिसँग अर्को कृति दाँजेर हेरेको पाइन्छ। उदाहरण स्वरूप कालिदासको 'ऋतुसहारसँग' लेखनाथको 'ऋतुविचार'।
उनका समालोचनात्मक कृतिहरूको अध्ययन गर्दा उनले प्रभावपरक व्याख्यात्मक पद्धतिको पनि प्रयोग गरेको देखिन्छ।
मुनामदन सम्बन्धी वासुदेव त्रिपाठी, ईश्वरबराल, वामदेव पहाडीका विचारहरुलाई समेटेर यस खण्डकाव्यमा भएको कथावस्तुलाई कारुणिक कथा भन्दै निर्णयात्मक समालोचना सिद्धान्तको पनि प्रयोग उनले गरेको पाइन्छ।
कवि लेखकहरूका कृतिहरूको नामलाई नै आफ्नो समालोचनाको शीर्षक बनाउनु प्रधानको छुट्टै एउटा समालोचनात्मक विशेषता हो। व्याख्यात्मक र तुलनात्मक समालोचना पद्धतिको राम्रो प्रयोग उनको 'चिसो चुलो' र 'तरुण तपसी' विषयक लेखहरूमा भएको देखिन्छ।
कृतिपक र कृतिकारपरक दुवै समालोचना प्रवृत्तिलाई उनले नाटकको समीक्षा गर्दा पनि प्रयोग गरेका छन्। प्रधानले मनोविश्लेषणात्मक पद्धतिलाई अपनाएर एन्टन चेखवको नाटक 'मामावान्या'को विश्लेषण गरेका छन्।
प्रधानमा स्वच्छन्दतावादी प्रवृत्ति पनि पाइन्छ। मनोविश्लेषणात्मक समालोचना पद्धतिको प्रयोग गरी समालोचक प्रधानले 'पल्लो घरको झ्याल' र 'अनुराधा' को विश्लेषण र मूल्याङ्कन गरेको पाइन्छ।
'आज रमिता छ' उपन्यासलाई समाजशास्त्रीय दृष्टिकोणले अध्ययन गरी प्रधानले समाजशास्त्रीय समालोचना पद्धतिको पनि प्रयोग गरेको पाइन्छ।
उपन्यासदेखि अन्य कुनै विधाको समालोचना गर्दा पहिले कृतिकारको पूर्ण प्रशंसा गरी त्यसपछि कृतिको समालोचना गर्नु प्रधानको मौलिक प्रवृत्ति हो।
मोतीराम भट्टदेखि आरम्भ भएको जीवनीपरक समालोचना राजनारायणमा आइपुग्दा अझ विकसित हुँदै जान्छ। प्रधानले यस क्षेत्रमा अनवरत कलम चलाएका छन् र विवेचना गर्ने काम उनले गरेका छन्।
●राजनारायण प्रधानका समालोचनात्मक प्रवृत्तिहरूलाई बुन्दागत रुपमा निम्न प्रकार देखाउन सकिन्छ:-
क)पूर्वीय र पाश्चात्य दुवै समालोचना सिद्धान्तका आधारमा कृतिहरूको समीक्षा गर्ने प्रवृत्ति।
ख) समालोचनामा सूचीपूर्ण श्रेष्ठ शैलीको प्रयोग हुनु।
ग) तुलनात्मक समालोचना पद्धतिको बढी प्रयोग हुनु।
घ) कृतिको अध्ययन विश्लेषणसँगै कृतिकारको पनि चर्चा गर्नु, यसैले उनी कृतिपक र कृतिकारपरक दुवै प्रवृत्तिका छन्।
ङ) प्रभावपरक निर्णयात्मक समालोचना प्रवृत्तिका प्रयोक्ता।
च) मनोविश्लेषणात्मक समालोचक।
छ) सैद्धान्तिक तथा व्यवहारिक दुवै प्रकारको समालोचना पद्धति आत्मसात गरी समालोचना गर्ने प्रवृत्ति।
टिप्पणियाँ
एक टिप्पणी भेजें